अध्याय ३ श्लाेक १७ भगवद् गीता
यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानवः ।
आत्मन्येव च सन्तुष्टस्तस्य कार्यं न विद्यते ॥ ३-१७॥
अर्थात्ः
आत्मामा नै रमाउने र आत्मामा नै सन्तुष्ट रहने आत्मास्वरुप मानवको लागि कुनै कर्तव्यकर्म बाँकी रहँदैन ।
मनुष्यलाई जति पनि कर्तव्यकर्मको विधान बनाईएको छ, ती सबैको उद्देश्य केवल परम कल्याणस्वरुप परमात्मालाई प्राप्त गर्नको निमित्त हो । जो मनुष्यको उक्त उद्देश्य पूर्ण भएको हुन्छ, उसको लागि कुनै कर्म गर्न बाँकी रहँदैन । संसारको कुनै पनि वस्तुले उसलाई आकर्षण गर्दैन, ऊ हर्ष–शोकादि विकारहरुबाट सदैव मुक्त भएर सच्चिदानन्दघन परमात्मामा नित्य निरन्तर स्थित भएर सदा सन्तुष्ट रहन्छ ।
ज्ञानीको मन–इन्द्रियहरुसहित शरीरसँग कुनै पनि सम्बन्ध हुँदैन । त्यसकारण ऊ वास्तवमा केही गर्दैन तर लोकदृष्टिमा उसको मन, बुद्धि र इन्द्रियहरुद्वारा पूर्ण अभ्यास र प्रारब्धका कारण शास्त्रानुकुल कर्म भइरहेको हुन्छ । यस्तो कर्म ममता, अभिमान, आसक्ति र कामनाबाट सर्वदा रहित भएका कारण परम पवित्र र अरुको लागि आदर्श हुन्छ । त्यसैले ज्ञानीले आत्मज्ञान गरिसकेपछि पनि लोकहितको लागि शास्त्रसम्मत कर्म गरेर रहन्छ तर शास्त्रको ऊमाथि कुनै शासन रहँदैन ।