कथा: कोही अमर छैन
कोही अमर छैन
गौतमीको एक्लो छोरो मर्यो । शोकले विह्वल भई लाशलाई लिएर उनी भगवान बुद्धकोमा पुगिन् । उनलाई आशा थियो कि तथागत मृत बालकलाई पुनः जीवित गरिदिन्छन् । बुद्धले गौतमीलाई सान्तवना दिँदै भन्नुभयो – ‘एउटा उपाय छ । तर मेरो विचारमा त्यो उपाय अत्यन्त कठिन छ ।’ गौतमीले भनिन् – ‘भगवान मेरो छोरालाई बचाउन म जस्तो कार्य गर्न पनि तयार छु ।’ बुद्धले भन्नुभयो – ‘तिमी कुनै यस्तो घरबाट जल लिएर आऊ जुन घरमा आजसम्म कोही सदस्यको मृत्यु भएको छैन । त्यस जलबाट अभिमंत्रित गर्यो भने तिम्रो छोरा जीवित भएर उठ्छ ।’ गौतमी ‘हस्’ भनी त्यहाँबाट जल खोज्न हिँडिन् । धेरै दिनसम्म उनी भौतिरिँरहिन् तर उनले कुनै त्यस्तो घर भेटिनन् जुन घरमा कहिल्यै कुनै सदस्यको मृत्यु नभएको होस् । अन्त्यमा हार मानेर निराश भई उनी बुद्धसामु आएर भनिन् – ‘भगवान मैले धेरै घर चहारेँ तर हजुरले भन्नुभएको जस्तो कुनै घर भेटिन ।’
त्यसपछि बुद्धले भन्नुभयो – ‘तिमीले अब त बुझ्यौ होला, यस संसारमा कुनै यस्तो घर छैन, जसमा कसैको मृत्यु भएको छैन । यसप्रकार यस संसारमा यस्तो कुनै व्यक्ति छैन जो मर्दैन । आज वा भोली सबैलाई आफ्नो समयमा मर्नुपर्दछ । तिम्रो छोराको त्यति समय थियो भनेर बुझ्नुपर्दछ । त्यसैले प्रकृतिको नियममा अडिएको यस अनित्य शरीरको निमित्त शोक गर्नु औचित्यहीन छ ।’
भगवान बुद्धको उपदेशले गौतमी सन्तुष्ट भईन् र आफ्नो छोराको समय त्यति नै रहेको कुरा आफ्नो चित्तलाई बुझाईन् ।
यसरी हामीले पनि जीवनमा अनित्य कुराप्रति धेरै विलाप गर्दछौँ । जुन जन्मन्छ, त्यो अवश्य मर्दछ । शरीर अनित्य छ । क्षणिक छ । आत्मा शाश्वत छ । नित्य छ । त्यसैले हामीले पनि होश छँदैमा, आयु छँदैमा, बल छँदैमा अनित्य वस्तुप्रतिको वासना छोडी नित्य शाश्वत सत्य आत्माको ज्ञान गर्नतर्फ लाग्नुपर्दछ ।