ध्यान र प्रगति
ध्यान र प्रगति
के ध्यान गर्नको निमित्त अधिकाधिक प्रयत्न गर्न जरुरी छैन ? के यो सत्य छैन कि जति धेरै बेर कोही ध्यान गर्छ, उसको त्यति धेरै प्रगति हुन्छ ?
ध्यानमा बिताएको घण्टा आध्यात्मिक प्रगतिको प्रमाण होइन । आध्यात्मिक प्रगतिको प्रमाण त तब हुन्छ जब यस्तो अवस्था आओस् कि ध्यान गर्नको निमित्त तिमीलाई कुनै किसिमको प्रयास नै गर्न नपरोस्, ध्यानलाई रोक्नको निमित्त बरु प्रयास गर्नु पर्ने हुनसक्छ । यस्तो अवस्था हुन्छ कि ध्यानलाई रोक्नलाई कठिन हुन्छ । भगवानको चिन्तनलाई रोक्न, साधारण चेतनामा उत्रिन कठिन हुन्छ । जब भगवानमा एकाग्रता तिम्रो जीवनको परम आवश्यकता बन्दछ, तब तिमी ऊ विना बाँच्न सक्दैनौ, तिमी चाहे कुनै काममा किन नलागेको होऊ, जब यो अवस्था स्वाभाविक रुपबाट रात–दिन बनिरहन्छ, तब सम्झिनुपर्छ कि निश्चित रुपमा तिम्रो प्रगति भएको छ, तिमिले वास्तविक उन्नति गरेका छौ । चाहे तिमी ध्यान लगाएर बस वा घुम, वा काम–काज गर, जुन कुराको तिमीबाट अपेक्षा गरिएको छ, त्यो हो चेतना । यही एकमात्र आवश्यकता हो – भगवानको बारेमा सधैँ सचेतना रहनु ।
तर के ध्यानमा बस्नु अनिवार्य संयम होईन र के यसले भगवानसँग धेरै प्रगाढता र केन्द्रित एकता आउँदैन ?
हुन सक्छ । तर मलाई कोरा संयम मन पर्दैन । म चाहन्छु कि प्रत्येक कर्म गर्ने समय, प्रत्येक क्षण, हाम्रो सम्पूर्ण क्रियाहरुमा र प्रत्येक गतिमा हाम्रो चेतना भगवानमा केन्द्रित होस् । यहाँ कुनै साधक यस्तो छन् जसलाई ध्यान गर्न भनिएको छ र कुनै साधक यस्तो छन्, जसलाई ध्यान गर्न भनिएको छैन । तर यसबाट यो सम्झिनु हुँदैन कि ध्यान नगर्नेको प्रगति भएको छैन । उनीहरु पनि एक साधना गर्छन्, तर उनीहरु अलग किसिमको साधना गर्छन् । भक्ति र आत्मोत्सर्गको भावको साथ कार्य गर्नु आध्यात्मिक साधना हो । अन्तिम उद्देश्य यो हो कि केवल ध्यानमा मात्र नभएर प्रत्येक अवस्थामा, जीवनको प्रत्येक क्रियामा भगवानसँग सतत एकताको अनुभव भईरहोस् ।
कुनै व्यक्ति यस्ता छन् जो ध्यानमा बस्छन् त यस्तो अवस्थामा जान्छन् जसलाई उनीहरु अत्यन्त सुन्दर र आनन्दमय सम्झिन्छन् । उनीहरु त्यस अवस्थामा आत्म–संतोषपूर्वक बस्दछन् र जगतलाई बिर्सिन्छन् । तर उनीहरुको ध्यानमा कुनै बाधा आईपर्यो भने त्यस अवस्थाबाट क्षुब्ध र क्रुद्ध भएर निस्किन्छन् । यो कुनै आध्यात्मिक प्रगति वा साधनाको लक्षण होइन । कोही यस्तो पनि छन्, जो यस्तो आचरण गर्छन् कि मानौँ उनीहरुलाई लाग्दछ कि यो ध्यानको ऋण तिर्नको लागि गरिएको हो । यिनीहरु ति व्यक्ति जस्तै हुन् जो हप्तामा एकपटक मात्र गिरजाघर जान्छन् र सम्झिन्छन् कि उनीहरुको भगवान्प्रतिको सम्पूर्ण कर्तव्य पुरा गरे ।
यदि तिमीलाई ध्यान गर्नको निमित्त प्रयत्न गर्न पर्दछ भने अहिले तिमी आध्यात्मिक जीवन बाँच्ने अवस्थाबाट केही पर छौ, जब ध्यानावस्थाबाट बाहिर निस्कनको निमित्त प्रयास गर्नुपर्छ भने तिम्रो ध्यान यो कुराको संकेत गर्छ कि तिमी आध्यात्मिक जीवन बाँचिरहेका छौ । हठयोग र राजयोग जस्तो यस्तो साधनाहरु पनि छन् जसको अभ्यास गरेर पनि हुन सक्छ कि साधकको आध्यात्मिक जीवनसँग कुनै सम्बन्ध नभएको होस् । धेरैजसो हठयोगबाट शरीरलाई र राजयोगबाट मनलाई संयम गरिन्छ । तर आध्यात्मिक जीवनमा प्रवेश गर्नुको अर्थ हो भगवानसँग गोता लगाउनु, ठीक त्यसरी जस्तो कि समुन्द्रमा हामफाल्नु । र यो पनि आरम्भ हो अन्त होइन किनकी हाम फालेर तिमी भगवानमा बाँच्न सिक्नुपर्दछ । यसको के उपाय छ ? तिमी सिधैँ हाम फाल्नुपर्छ यो नसोची कि ‘म कहाँ पुग्नेछु, मेरो के दशा होला ?’ तिम्रो मनको झिझक नै हो तिमीलाई रोक्ने । तिमीले आफूले आफूलाई छोड्नुपर्छ । यदि तिमी समुन्द्रमा डुबुल्की मार्न खोजिरहेका छौ र साथसाथै यो पनि सोचिरहेका छौ कि ‘कहीँ नजिक कुनै ढुङ्गा वा चट्टान छ कि ?’ तिमी डुबुल्की मार्नै सक्दैनौ ।
(श्रीमां–श्रीअरविंदको वचनबाट संकलित पुस्तक ‘ध्यान’बाट अनुवाद गरिएको)