अध्याय ५ श्लाेक १० भगवद् गीता

ब्रह्मण्याधाय कर्माणि सङ्गं त्यक्त्वा करोति यः ।
लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा ॥ ५-१०॥

 अर्थातः

आफूद्वारा गरिने सबै कर्महरुलाई ब्रह्ममा अर्पण गरेर वासनाको त्याग भएपछि कमलको पातमा पानी नटाँसिए जस्तै कुनै पनि विषयवस्तुमा आसक्ति हुँदैन र पापबाट मुक्त हुन्छ ।

कामना र आसक्तिले नै मनुष्यलाई बन्धनमा बाँध्छ । कामना र आसक्ति रहनु भनेको व्यक्तिमा स्वार्थपूर्ति गर्न अझै केही बाँकी छ भन्ने बुझिन्छ । तर शरीर, मन, ईन्द्रियहरु, प्राण, बुद्धि आदि जसलाई हामी मेरो भनेर सम्बोधन गर्छाैँ, ती त सबै परमात्माका हुन् । यो ज्ञान नबुझेसम्म मनुष्यले आफ्नो लागि गर्नुपर्ने भनेर संकल्प गरिराखेको हुन्छ । यी वस्तुहरु प्राप्त भएपछि सबै छोड्छु, भजन गर्छु, ध्यान गर्छु भन्छ । तर एकपछि अर्काे कामनाले गिजोल्दै जान्छ र अन्त्यमा त्यही कामनाहरुको चक्रव्यूहमा फस्छ । यो विराट अस्तित्व भगवानको हो र त्यसैले सम्पूर्ण पदार्थ भगवानकै अंश हुन् । एउटा शरीर आफ्नो भनेर मान्नु मुर्खता हुन्छ । यदि हाम्रो हुन्थ्यो भने मृत्युमा साथै लैजान सकिन्थ्यो । तर सबै प्रकृतिको नियमानुसार नै हुन्छ र प्रकृतिको नियम परमात्माको लीला अन्तर्गत पर्दछ ।