सुत्ने समय र तरिकाबारे जानौँ

सुत्ने समय र तरिकाबारे जानौँ 

अहिले ईन्टरनेटको जमानामा मानिसको सुत्ने र उठ्ने समय पहिलेका मानिसको भन्दा धेरै नै परिवर्तन भएको छ । बिजुलीको र ईन्टरनेटको उपलब्धताले समयलाई हामीले चाहेर पनि आफ्नो वशमा गर्न सकिरहेका छैनौँ । यसको प्रत्यक्ष असर अन्य ठाउँमा जस्तै हाम्रो सुत्ने र उठ्ने समयमा पनि परिरहेको छ जसले गर्दा हामीले धेरै सपना देख्ने (दिवा सपना पनि) तर अत्यन्त कम पुरा गर्ने हुन थालेको छ । 

कुनै पनि कार्य गर्नको निमित्त उर्जाको सबैभन्दा ठूलो भूमिका रहन्छ । हामी उर्जाशील रहन हाम्रो खाने, उठ्ने र सुत्ने तरिका सुव्यवस्थित भएको हुनुपर्छ । यदि यी तीनमा एकको गढबढीले मात्र पनि हामीलाई आफ्नो कार्यमा पूर्णता दिन गाह्रो पर्दछ । यी मध्ये सुत्ने समय बारे केही चर्चा गरौँ । 


पहिला पहिला भनिने गरिन्थ्यो – ‘राति चाढै सुतौँ, बिहान चाढै उठौँ, रोगलाई टाढा भगाऔँ ।’ मानिसहरु त्यसअनुसार नै साँझमा सूर्यास्त अगाडि नै खाना खाएर सूर्यास्तको ३–४ घडीभित्र नै सुत्दथे र बिहान ब्रह्ममुहुर्तमा उठ्दथे । त्यसले उनीहरु बुढेसकालसम्म पनि कति उर्जाशील रहन्थे । हाम्रो शरीरले एक किसिमको नियम पालना गर्दछ । हाम्रो शरीरको विज्ञान बुझेर यसलाई आफ्नो कार्यपूर्तिको निमित्त कसरी सञ्चालन गर्ने भनेर जान्दा हामीलाई रोगहरुले निकै कम आक्रमण गर्छन् र हामी स्वस्थ्य रहन्छौँ । वैज्ञानिक हिसाबले अधिक शारीरिक परिश्रम गर्नेलाई ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक हुन्छ भने कम शारीरिक परिश्रम गर्ने र मानसिक परिश्रम गर्नेलाई ६ देखि ७ घण्टाको निन्द्रा आवश्यक हुन्छ । यसरी हिसाब गर्दा रातको खाना खाएको डेढ–दुई घण्टा पछि ९ बजेदेखि बिहान ५ बजेसम्मको समयमा आफूलाई अनुकुल मिलाएर सुत्दा ठिक हुन्छ । 

निन्द्राको समय बिग्रनाले निन्द्राको कमी हुन्छ । निन्द्रा कति रोगहरुलाई स्वतः ठीक गर्दछ । निन्द्राको कमीले केवल आँखाको वरिपरि कालोपना हुने मात्र होईन, हामी थेरै थकित महसुस गर्छाैँ र हाम्रो तौल पनि बढ्दछ । 

शास्त्र भन्दछ कि रात्रिको पहिलो प्रहरमा सुत्नुपर्दछ र ब्रह्ममुहुर्तमा उठेर जप, पाठ, ध्यान आदि साधना गर्नुपर्दछ । सुत्दा शवासनमा सुत्नुपर्दछ वा दायाँ हात माथि पर्ने गरी सुत्नुपर्दछ । यसरी सुत्दा हाम्रो पिङ्गला नाडी सक्रिय हुन्छ जसले उर्जा प्रदान गर्दछ र हाम्रो निन्द्रा छोटो समयमा नै पुग्ने हुन्छ । बाँया भागलाई माथि पारेर सुत्दा ईडा नाडी सक्रिय हुन्छ जसले हामीलाई शीतलता प्रदान गर्दछ र लामो समय सुत्दा पनि निन्द्रा पूर्ति नभएको महसुस हुन्छ । रात्रिको समयमा बाहिरी वातावरण शीतल हुने हुनाले हामीले दायाँ भागलाई माथि पारेर सुत्नुपर्दछ भने यदि दिनमा आराम गर्नु परेमा बायाँ भागलाई माथि पारेर सुत्नुपर्दछ । सुत्दा जहिले पूर्व अथवा दक्षिण शीर गरेर सुत्नुपर्छ । पूर्व अथवा दक्षिण शिर गरेर सुत्नाले लामो उमेर तथा राम्रो स्वास्थ्य प्राप्त हुन्छ । 

शास्त्र भन्दछ ठिक समयमा नसुत्ने र ठिक समयमा नउठ्ने व्यक्ति तामसिक प्रवृत्तिका व्यक्ति हुन् । उनीहरु मूर्छामा नै बाँच्दछन् र मूर्छामा नै मर्दछन् । त्यस्ता व्यक्ति जागेर पनि सुतेका व्यक्ति जस्तै हुन्छन् । अत्यधिक विचार, कल्पना र दिवा सपनामा रमाउने हुन्छन् जसले गर्दा जागरण खण्डित हुन्छ । जसको जागरण खण्डित हुन्छ, उनीहरु नशामा डुबेका जस्ता हुन्छन् र आफ्नो कार्य आधा अपुरो गर्ने हुन्छन् । त्यसैले आफ्नो जीवन व्यवहारमा सफलता प्राप्त गर्न र उर्जाशील समयलाई पूर्ण रुपमा फाइदा लिनको लागि हामीले सुत्ने समयलाई व्यवस्थित गर्नु अत्यन्त जरुरी हुन्छ ।