बुधबारको व्रत कथा र पूजा विधि

बुधबारको व्रत कथा र पूजा विधि

ग्रह शान्ति तथा सबै सुखको ईच्छा राख्ने व्यक्तिले बुधबारको व्रत राख्नुपर्दछ ।

बुधवार व्रतको पौराणिक कथा

एक समय एक व्यक्ति आफ्नी श्रीमतिलाई लिन ससुराली गए । त्यस दिन बुधबार थियो । बुधबार भएको हुनाले सबैले आजको दिन नजान आग्रह गरे । तर ऊ हठ गरेर आफ्नी श्रीमतिलाई त्यहाँबाट बिदा गराएर लिएर गयो । जाँदाजाँदै बाटोमा उसकी श्रीमतिलाई प्यास लाग्यो । ऊ हातमा लोटा लिएर श्रीमतिलाई रथमा नै छोडेर पानी लिन गयो । पानी लिएर फर्किदा त उजस्तै दुरुस्तै देखिने अर्को व्यक्ति रथमा उसकी श्रीमतिसँग बसेको थियो । उसले अत्यन्त क्रोधित हुँदै भन्यो – ‘तँ को होस् ?’ त्यो व्यक्तिले जवाफ दियो – ‘यो मेरी पत्नी हो । तँ को होस् ?’ उसले भन्यो – ‘यो मेरी श्रीमति हो । उसलाई मैले आज ससुरालीबाट ल्याएको हो ।’ ती दुई एक अर्कासँग झगडा गर्न थाले । उनीहरुको झगडा सुनेर राजाको सिपाहीहरु भेला भए । सिपाहीले स्त्रीलाई सोधे – ‘तिम्रो पति यी दुईमा कुन हो ?’

ऊ कसलाई पति भन्ने भनेर छुट्टाउन सकिन । लोटा समातेको पतिले भगवानसँग पुकार गर्दै मनमनै भन्यो – ‘हे प्रभु ! हजुरको यो के लीला हो ? साँचो नै आज झूठो बनिरहेको छ ।’ त्यसपछि त्यहाँ आकाशवाणी भयो कि मूर्ख आज बुधबारको दिन तलाई हिँड्न नहुने थियो । सबैको सुझावलाई तैँले अहङ्कारका कारण नमानेर हिँडिस् । यो सबै लीला बुध भगवानको हो । त्यस व्यक्तिले तत्कालै बुधदेवलाई प्रार्थना गर्यो र आफ्नो गल्तीको लागि क्षमा माग्यो । त्यसपछि ऊ श्रीमतिलाई लिएर नियमपूर्वक बुधदेवको व्रत पूजा गर्ने प्रण गर्दै आफ्नो बाटो लाग्यो । जो व्यक्ति पनि यो कथा सुन्छ र अरुलाई सुनाउँछ, उसलाई सबै प्रकारका सुख प्राप्त हुन्छ । 

बुधबार व्रतको पूजा विधिः
१) पौराणिक मान्यता अनुसार बुधबारको व्रत शुरु विशाखा नक्षत्रयुक्त बुधबार गर्नुपर्दछ र त्यसपछि लगातार सात बुधबार व्रत गर्नुपर्दछ,
२) यस व्रत यदि विधि–विधान सहित गर्ने हो भने माता लक्ष्मीको कृपा प्राप्त हुन्छ । व्रतालुको जीवनमा सुख शान्ति रहन्छ र घर धन–धान्यले परिपूर्ण हुन्छ,
३) बिहान सूर्योदयभन्दा अगाडि स्नानादि नित्यकर्मबाट निवृत्त भएर भगवान बुधलाई पूजा गर्नुपर्दछ,
४) व्रतालुले हरियो रङ्गको माला वा कपडा प्रयोग गर्दा उत्तम हुन्छ,
५) व्रत शुरु गर्नुभन्दा पहिला गणेश जी सहित नवग्रहको पूजन गर्नुपर्दछ,
६) दिनभरको व्रतपछि साँझ पनि पूजा गर्नुपर्दछ,
७) बुधबारको व्रतमा हरियो रङ्गको कपडा, फूल वा तरकारी दान गर्न सकिन्छ,
८) यस दिन एक समय दही, मुँगको दाल वा हलुवा वा हरियो चिजबाट बनेको खाना खानुपर्दछ ।