लेख: अहिंसा

अहिंसा
–    कृष्ण खनाल

‘अहिंसा–सत्यास्तेय–ब्रह्मचर्यापरिग्रहा यमाः ।’ – पातञ्जल साधन–पाद


पतञ्जलि योग शुत्रको अष्ट भूमिकामध्ये पहिलो भूमिका ‘यम’ र ‘यम’को पाँच भागमध्ये पहिलो भाग ‘अहिंसा’ । अहिंसाको सामान्य अर्थ हिंसाको अभाव हुन्छ । जहाँ हिंसा हुँदैन, त्यो स्वतः अहिंसा हुन्छ । त्यसैले अहिंसा बुझ्नको निमित्त ‘हिंसा’ के हो भनेर बुझ्नुपर्दछ । सूक्ष्म र व्यापक तहमा हिंसाको व्याख्या हुन सक्दछ । सूक्ष्मतामा आत्मज्ञानको मार्गमा अवरोध गर्ने सबै क्रिया ‘हिंसा’ हुन्छन् भने व्यापकतामा हिंसाको अर्थ ‘मन, वचन र कर्मले अरुको अहित हुने कर्म’ भनेर बुझिन्छ । मनबाट पनि कसैलाई नराम्रो सोच्नु, द्वैष भाव राख्नु, वचनले अरुको चित्त दुख्ने वाणी बोल्नु, प्राणी हत्या गर्नु आदि हिंसा हुन् ।  

सत्य दुई प्रकारका हुन्छन् – निरपेक्ष र सापेक्ष । निरपेक्ष सत्य त परमात्मा बाहेक अरु छैन । सापेक्ष सत्य जान्नको निमित्त हामीलाई देश, काल र परिस्थितिको ज्ञान हुनु जरुरी हुन्छ । त्यो समयको वस्तुपरक र यथार्थपरक विश्लेषण गर्नुपर्दछ । यदि त्यसो गरिएन भने ज्ञान कोरा हुन्छ र वास्तविक मर्म सम्प्रेषण हुन सक्दैन । त्यसैले ‘हिंसा’ र ‘अहिंसा’को सम्बन्धमा पनि समय सापेक्ष विश्लेषण गर्ने प्रयास गरौँ । 

ब्रह्माणमा ज्ञान असिमित छ । त्यो सागरीय ज्ञानमध्ये एक चम्चा जति ज्ञान बुद्धिमा लेपन गरेर हामी आफूलाई ज्ञानी सम्झन्छौँ । हामी आफूलाई जान्ने ठान्दछौँ र अर्काेलाई अज्ञानी । हामी आफूलाई ठूलो ठान्दछौँ र अर्काेलाई सानो, आफूलाई विशेष ठान्दछौँ र अर्कोलाई गौण । हिंसाको मुख्य जरो नै यहीँ छ । ज्ञानको अर्थ आफूभन्दा अर्काे ठूलो वा सानो भनेर जान्नु होईन । त्यो त अज्ञान हो । ज्ञानको अर्थ परमात्माले यो जगतमा कसैलाई ठूलो वा सानो बनाएको छैन, सबै बराबर छन् र सबैको उत्तिकै महत्व छ भनेर बुझ्नु हो । बुझ्नु भनेको व्यवहारतः त्यो पालना गर्नु पनि हो । जसले बझेँ भन्छ र पालना गर्दैन भने त्यो त ढोँगी हो । आजको समाजमा यस्ता ढोँगी जताततै व्याप्त छन् । किनकी सबैभन्दा बढी हिंसा तिनैले गर्छन् जसले समाज बुझेँ भन्छन्, जसले धर्म बुझेँ भन्छन्, जसले अर्थ बुझेँ भन्छन्, जसले संस्कृति, व्यापार र सम्पूर्ण विश्व नै बुझेँ भन्छन् । तिनीहरु ब्रह्माण्ड बुझ्छन् र सँगसँगै कसरी अरुलाई होच्याउने, कसरी अरुलाई तल पारेर आफू खुड्किलो उक्लिने, कसरी अरुलाई मारेर आफू बाँच्ने पनि बुझ्छन् । राम्रा–राम्रा कुरा बुझ्छन् र लागु गर्दैनन्, नराम्रा–नराम्रा कुरा बुझ्छन् र लागु पनि गर्छन् । तिनीहरु नै हुन् जसले पत्नीमाथि हिंसा गर्छन् र ‘पतिव्रता धर्म’को डर देखाउँछन्, तल्लो जाति भनेर हिंसा गर्छन् र ‘जातव्यवस्था’को डर देखाउँछन्, निर्धामाथि हिंसा गर्छन् र ‘सत्ता’को डर देखाउँछन् ।


इतिहासमा सबैभन्दा धेरै युद्ध ‘धर्म’को नाममा भएका छन् । यो एकदम आश्चर्यजनक साथसाथै दुःखद तथ्य हो । धर्मविस्तार र धर्मान्तरणको कृयाकलाप जबसम्म विचार, विज्ञान र विवेकभन्दा पनि मान, प्रतिष्ठा, अहंकार र अर्थसँग जोडिन्छ तबसम्म यो कार्य रोकिँदैन । जबसम्म अरुले मानेको धर्म नीच र आफूले मानेको धर्म महान भनेर व्याख्या भईरहन्छ, तबसम्म धर्मको नाममा युद्ध भईरहन्छ । सबै धर्मको मूलमा ‘अहिंसा’ छ । सबै धर्मका धर्मग्रन्थले आफू बाँच्दा अरुको बाँच्ने अधिकार हनन भएको छ/छैन भनेर हेक्का राख्न होसियार हुनु भनेर निर्देश पनि गर्छन् । तर ती धर्मग्रन्थ पढेर आफूले पालना गर्ने र अरु सामान्यजनलाई पनि त्यसको मर्म बुझाएर पालना गर्न निर्देश गर्नुपर्ने अधिकांश धर्मगुरुहरु नै सत्ता, शक्ति र पैसाको मातमा चुर्लुम्म डुबेका छन् । वस्त्र परिवर्तन गरेर सन्तजस्तो देखिने तर अधिकांश समय वासनाको चिन्तनमा डुबिरहने भोगीहरुको कारणले गर्दा नै जनमानसमा धर्मप्रतिको आस्था स्खलित हुँदै गएको छ । यो आजको समयको कटु यथार्थ हो । 


मान्छे जे भित्र छ, बाहिर पनि त्यही हुनुपर्छ । यदि त्यसो भएन र देखावटी गर्न थालियो भने आन्तरिक द्वन्द्व सुरु हुन्छ । उसले आफूभित्र भएको पिडा, आफूले परिवर्तन गर्न नसकेको कमजोरी लुकाउन बाध्य हुन्छ । अध्यात्ममा लागेका अधिकांश व्यक्तिमा मैले यो कमजोरी महसुस गरेको छु । उनीहरु आफूमा भएका कमजोरी साझा गर्न सक्दैनन् । उनीहरु आफूलाई सुरुवातदेखि नै ज्ञानी सन्तजस्तो देखाउन खोज्छन् । जबकि अधिकांश व्यक्ति मोक्षको खोजले भन्दा पनि दुःख निवारणको उद्देश्यले अध्यात्ममा प्रवेश गरेका हुन्छन् । वर्षाैँदेखि लागेका आफू वरपरका साथी–सङ्गी हेर्छन्, सबै निष्काम कर्मयोगीजस्ता, सबै काम, क्रोध, लोभ, मोह, मद, माश्चर्यजस्ता शत्रुहरुबाट निर्लिप्तजस्ता । देखासिखी गरेर आफू पनि त्यस्तै देखिने लहडमा बाहिरी आवरणहरु सबै परिवर्तन गर्छन् । भित्र जस्ताको तस्तै । सबै शत्रुहरुले हर तरिकाबाट हरक्षण आक्रमण गर्छन्, अनि बाहिर बाघजस्तो व्यक्ति भित्रबाट निम्छरो मुसोजस्तो । ‘म अध्यात्ममा लागेको दशकौँ भयो’ भनेर नाक ठूलो बनाउने व्यक्तिको आचरण, व्यवहार र गर्ने दैनिक कृयाकलाप हिंसाले भरिपूर्ण हुन्छ । त्यसैले मेरो विचारमा आफू अरुजस्तो हुन खोज्नु, आफ्नो धरातल खोज नगरी देखासिखी गर्नु र आफूलाई सत्यमार्गतर्फ परिवर्तन नगर्नु नै आफैँले आफूप्रति गरेको सबैभन्दा ठूलो ‘हिंसा’ हो ।    
       
भगवान् दत्तात्रेय हंस स्वरुपमा साध्य देवताहरुसँग भन्नुहुन्छ –  
मर्माण्यस्थीनि हृदयं तथासून, रुक्षा वाचो निर्दहन्तीह पुंसाम् ।
तस्माद् वाचुमुषतीमुग्ररुपां धर्मारामो नित्यशो वर्जयीत ।।
अरुन्तुदं परुषं रुक्षवाचं वाक्कण्टकैर्वितुदन्तं मनुष्यान् ।
विद्यादलक्ष्मीकतमं जनानां मुखे निबद्धां निर्ऋतिं वै वहन्तम् ।।

अर्थात् यस जगतमा रुखो बोलीले कोमलस्थानमा, हड्डीमा, हृदय तथा प्राणमा चोट पुर्याउँछ, त्यसैले धर्मानुरागी पुरुषले जलाउने रुखो वचनलाई सधैँको लागि त्याग गर्नुपर्दछ । त्यस्तै, जसको वाणी रुखो र स्वभाव कठोर हुन्छ, जसले अरुको कोमल भावनामा चोट पुर्याउँछ, उसलाई यस्तो सम्झिनुपर्छ कि ऊ मनुष्यमा महादरिद्र छ र ऊ आफ्नो मुखमा दरिद्रता तथा मृत्युलाई लिएर हिँडेको छ ।

विचार आदानप्रदानको सबैभन्दा सहज र प्रभावकारी माध्यम ‘वाणी’ हो । अहिलेको समयमा प्रत्यक्ष रुपमा मानिसले सबैभन्दा बढी हिंसा वाणीबाट गर्छ । मनबाट गरिने हिंसा अप्रत्यक्ष हो र त्यो दोस्रो व्यक्तिलाई पनि थाहा हुँदैन । त्यसले अरुलाई भन्दा आफूलाई बढी हानी गर्छ । तर वचनबाट गरिएको हिंसाले कोमल हृदयमा वर्षाैँसम्म चोट पुर्याउँछ । दत्तात्रेयले भन्नुभएको जस्तै जो हृदयमा हिंसा बोक्छन्, उनीहरु रुखो र कठोर वचन बोल्छन् । जो अरुलाई चित्त दुख्ने गरी बोल्छन् र ‘मन सफा भएको व्यक्तिको बोली कठोर हुन्छ’ भनेर कुतर्क गर्छन् भने तिनीहरु माथि भनिएजस्तै ढोँगी हुन् । मन सफा र हृदय पवित्र भएको व्यक्तिको वाणी चाँहि कसरी कठोर र रुखो हुन सक्छ ? त्यसैले धर्मानुरागीहरुले मीठो बोल्नुपर्छ, अरुलाई चित्त नदुःख्ने गरी बोल्नुपर्छ, नम्र बोल्नुपर्छ, हेक्का राखेर बोल्नुपर्छ, सत्य बोल्नुपर्छ र आवश्यक मात्र बोल्नुपर्छ । 


स्थूल वा सूक्ष्म रुपमा ‘हिंसा’को अस्तित्व महसुस भएपछि त्यसलाई निरुपण गरेर निराकरणतर्फ लाग्नुपर्दछ । ‘हिंसा गर्नु र हिंसा सहनु’ दुवै पाप हुन् । जसले पिडितलाई नै सम्झाउन, बुझाउन लागेर पिडकलाई प्रोत्साहन गर्छन्, तिनीहरु महापापी हुन् । यसले हिंसा रोकिनुको साटो हिंस्रकलाई थप प्रश्रय मिल्दछ । यस सन्दर्भमा छोटकरीमा एउटा कथा साझा गर्दा उपयुक्त होलाः
एक महिला सधैँ आफ्नो घर नजिकैको डेरी पसलमा दूध लिन जान्थिन् । एकदिन उनलाई त्यहाँको पसलेले जिस्कायो । उनी धार्मिक प्रवृत्तिको व्यक्ति भएको कारण उनले त्यो जिस्काईलाई जवाफ नदिँदा नै उपयुक्त हुने सोचिन् र दूध लिएर आफ्नो बाटो लागिन् । त्यस ठाउँमा अर्काे पसल नभएका कारण उनलाई दूध लिन त्यहीँ जानुपर्ने बाध्यता थियो । दोस्रो दिनमा उनलाई उक्त पसलेले झन् बढी जिस्कायो । उनी हिजोजस्तै केही नबोली दूध लिएर आफ्नो बाटो लागिन् । तर उनलाई मनमा भने थोरै असजिलो महसुस भयो । तेस्रो दिन, चौथो दिन गर्दै दशौँ दिनसम्म त्यो पसलेले झन् असभ्य र अश्लिल शब्द बोलेर जिस्कायो । एघारौँ दिनमा जब त्यो पसलेले जिस्कायो, उनलाई साह्रै असह्य भयो र उनले नजिकै भएको ढुङ्गा उठाएर हिर्काईन् । ढुङ्गाले लागेर त्यो व्यक्तिको टाउकोमा घाउ भयो र रगत पनि आयो । तत्कालै उनलाई ग्लानी भयो र उनले त्यो व्यक्तिसँग माफी मागिन् । बाटोमा फर्किँदै गर्दा उनलाई पश्चाताप भयो । उनले आफूले ‘किन हिर्काएँ’ भनेर आफैँलाई बारम्बार प्रश्न गरिहिन् । तर पनि उनले हिर्काउन हुन्थ्यो वा हुन्थेन निर्णय गर्न सकिनन् । उनी आफूले मान्ने धर्मगुरुकोमा आफ्नो कौतुहल मेटाउन गईन् । उनले आफू छटपटिएको कारण बताईन् । उनको गुरुले भन्नुभयो – ‘तिमीले प्रतिकार गरेको गलत होइन । तर प्रतिकार गरेको शैली मिलेन । तिमीले पहिलो दिनमा नै प्रतिकार गर्नुपर्थाे । तिमीलाई उसले हिंसा गरेको छ भनेर त पहिलो दिनमा नै महसुस भएको थियो । धेरै दिनसम्म कुरेपछि उसलाई झन् प्रेरणा मिल्यो र उसले दुव्र्यवहार बढाउँदै लग्यो । पहिलो दिनमा नै जवाफ दिएको भए तिमीलाई क्रोध पनि उत्पन्न हुँदैनथ्यो र ऊ पनि हिंसात्मक गतिविधि गर्नबाट सजग हुन्थ्यो ।’ गुरुको उत्तरबाट उनी सन्तुष्ट भईन । त्यसैले हामीले पनि हिंसामुक्त समाज निर्माणको निमित्त कुनै पनि हिंसाको जरोलाई पहिलो अवस्थामा नै काट्नुपर्छ ।

 
कानुनले कम चेतना भएका जीवको हिंसालाई (लोपोन्मुख बाहेक) दण्डनीय मान्दैन । तर आध्यात्मिक अर्थमा ‘जीव हिंसा’ उचित होइन र हिंसा गर्नु पाप हो । यो तथ्य हजारौँ वर्षदेखि हाम्रा शास्त्र, ऋषिमुनि र गुरुहरुले भन्दै आउनुभएको छ । उहाँहरुको वचनलाई अनुशरण गरेर अधिकांश साधकहरु मासु तथा मासुजन्य पदार्थ सेवन गर्दैनन् । जीव हिंसामा अप्रत्यक्ष भए पनि दोष लाग्छ भन्ने मान्दछन् । तर जो आफ्नो लक्ष्य ‘परब्रह्म परमेश्वरको यथार्थ सत्य बोध गर्नु हो’ भनेर भन्छन् र ‘मासु खाँदा पाप लाग्दैन’ भनेर कुतर्क गर्छन् वा मासु खान्छन् भने तिनीहरुको अवस्था जिब्रोको दासत्वबाट माथि उठेको छैन । अझ कोही भन्छन् – ‘म नियमित ध्यानमा रमण गर्छु तर मासु छोड्न सकेको छैन ।’ जति बुझ्न खोज्दा पनि यो विरोधाभाषपूर्ण वक्तव्य मेरो समझमा आउन सकेन । किनभने ध्यानको लागि आहारमा शुद्धिकरण अत्यन्तै जरुरी छ । हाम्रो शास्त्रले ‘मासु’लाई तामसिक मान्छ र ध्यान विशुद्ध सत्व अवस्था हो । परमात्मा त्यो भन्दा पनि पर हुनुभएको हुनाले मुमुक्षुहरुले आफ्नो आहार विहारमा क्रमिक रुपमा तामसिकबाट राजसिक, राजसिकबाट सात्विक र सात्विकबाट विशुद्ध सत्वको अवस्थातिर अग्रसर हुनुपर्छ ।