हरिपरिवर्तिनी एकादशी

हरिपरिवर्तिनी एकादशी 

हरिपरिवर्तिनी एकादशी भाद्र महिनाको शुक्ल पक्षमा पर्दछ। यसदिन सुतिरहेका भगवान विष्णुले कोल्टे फेर्ने भएको हुनाले यो एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिन्छ। यस एकादशीलाई वामन एकादशी र जयन्ती एकादशी पनि भनिन्छ। 

व्रत कथा 

त्रेता युगमा बलि नामका दैत्य राजा थिए।  उनी दानवीर थिए र भगवान विष्णुका परम भक्त थिए। उनले दैनिक रुपमा ब्राह्मण र भगवान विष्णुको पूजा गर्दथे। तर इन्द्रसँग उनको द्वेष थियो। उनले इन्द्रलोक माथि विजय प्राप्त गरेका थिए। सम्पूर्ण देवताहरु उनको अधीनमा थिए। देवताहरु आफ्नो अधिकार प्राप्त गर्नको लागि विष्णु भगवान कहाँ गए ।  देवाताहरुको कल्याण गर्नको लागि भगवान विष्णुले वामन अवतार धारण गर्नुभयो। वामन अवतार भगवान विष्णुको पाँचौं अवतार हो।
 
एकपटक बलि राजाले ठुलो यज्ञको आयोजना गरे। त्यस यज्ञमा उनले ब्राह्मणहरुलाई उनीहरुको इच्छा बमोजिमको दान गर्ने घोषणा गरे। 

भगवान विष्णु त्यस यज्ञमा वामन ब्राह्मणको रुपमा पुग्नुभयो र तीन पाइला जमीन दानको रुपमा माग्नुभयो। वलि राजाले तीन पाइला जमीनलाई तुच्छ सम्झेर दानको लागि संकल्प गर्न थाले। त्यहि बेलामा वलिका गुरु शुक्राचार्यले भगवान विष्णुले वामन अवतार गरेर दानमा तीन लोक चौध भुवन लिन लाग्नुभएको थाहा पाए र वलिलाई रोक्न खोजे। तर वलिले अहंकार गरेर गुरुको कुरा मानेनन्। वलि राजाले संकल्प गर्नासाथ वामन ब्राह्मणले आफ्नो पाइला ठुलो बनाएर एउटा पाइलाले पृथ्वी लोक ढाके। दोश्रो पाइलाले स्वर्ग लोक ढाके र तेस्रो पाइला कहाँ राख्ने भनेर वलि राजालाई प्रश्न गरे। त्यसपछि वलि राजाले आफ्नो शीर थापेर तेश्रो पाइला राख्न अनुरोध गरे। भगवान विष्णुले यसरी इन्द्रलाई इन्द्रलोक फिर्ता गर्नुभयो र देवताहरुलाई मुक्त गर्नुभयो। वलि राजा त्यसपछि पाताल लोकमा गए ।  वलि राजाको भक्तिबाट प्रभावित भएर भगवान विष्णुले उनको नजिक बस्ने वाचा गर्नुभयो। भाद्र महिनाको शुक्ल पक्षको एकादशीको दिनमा वलि राजाको आश्रममा भगवान विष्णुको प्रतिमा स्थापना भएको थियो। 

त्यसैले भाद्र शुक्ल एकादशीलाई वामन एकादशी पनि भनिन्छ। 

यस एकादशीको व्रत गर्नाले मानिस आफ्ना सबै पापबाट मुक्त भएर स्वर्गलोकमा पुग्दछ र चन्द्रमा समान तेजोमय हुन्छ।