अध्याय ४ श्लाेक १४ भगवद् गीता

न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा ।
इति मां योऽभिजानाति कर्मभिर्न स बध्यते ॥ ४-१४॥

 अर्थातः

न त म कुनै कर्ममा लिप्त छु न त कर्मफलको आशावादी छु । मलाई जसले जान्दछ उसले कर्म गरिरहे पनि कर्मबन्धनमा पर्दैन ।

जसलाई कुनै फलको आकाङ्क्षा हुन्छ, उसले नै आफूलाई ‘कर्ता हुँ’ भन्ने भाव राखेर बन्धनमा पर्दछ । यहाँ भगवानले सम्पूर्ण सृष्टि रचना गरेर यस जगतमा धर्म रक्षार्थ अवतार लिएपनि कुनै पनि कर्ममा आफू लिप्त नभएको दर्शाउनुभएको छ । सृष्टिमा सम्पूर्ण कर्मको गुण र दोषको आधारमा फल पनि निर्धारित भएको हुनाले कोही कर्ममा लिप्त हुँदैन । त्यसको परिणाममा बदलाव हुँदैन । परिणाम त्यस्तै हुन्छ जस्तो मान्छेले कर्म गर्छ । मानिसलाई आफ्नो विगतको स्मरण नहुने हुनाले र पूर्वजन्मको कर्मको ज्ञात पनि नहुने हुनाले उसले सम्पूर्ण कर्ताको कर्तापन र भोक्तापन आफू स्वयंलाई ठानेर अन्तःकरणमा संचित गर्दछ । त्यसैले भगवानले यहाँ यदि व्यक्तिले उहाँलाई जान्न सक्यो भने उसले तत्वको रहस्य पनि जान्दछ र जसले तत्वको रहस्य जान्दछ, ऊ स्वतः मुक्त हुन्छ र कर्तापन र भोक्तापनको बन्धनमा पर्दैन भनेर निर्देश गर्नुभएको छ ।