अध्याय २ श्लाेक ७० भगवद् गीता

आपूर्यमाणमचलप्रतिष्ठं
समुद्रमाप: प्रविशन्ति यद्वत् |
तद्वत्कामा यं प्रविशन्ति सर्वे
स शान्तिमाप्नोति न कामकामी ।।२।७०।।

अर्थातः

जसरी सबै नदीहरु एउटै समुन्द्रमा गएर मिल्छन, शान्त हुन्छन्, त्यसैगरी विषयबाट कामलाई खिचेर आत्मा अधिष्ठित सन्तहरुले शान्ति पाउँछन् । विषयानुरागीहरुले शान्ति पाउन सक्दैनन् ।

यस श्लोकमा भगवानले समुन्द्रको उपमा दिएर यो सम्झाउनुभएको छ कि जसरी समुन्द्र ‘आर्पूयमाणम्’ अर्थात अथाह जलले परिपूर्ण छ, त्यसरी नै स्थितप्रज्ञ अनन्त आनन्दले परिपूर्ण हुन्छ । जसरी समुन्द्रलाई जलको खोजी हुँदैन, त्यसैगरी स्थितप्रज्ञ पुरुषलाई कुनै पनि सांसारिक सुख भोगको थोरै पनि आवश्यकता हुँदैन । जसरी समुन्द्रको स्थिति अचल हुन्छ, ठूलोभन्दा ठूलो आँधी–तूफान आउँदा पनि वा अनेक प्रकारका नदीहरुको जलप्रवाह प्रविष्ट हुँदा पनि आफ्नो स्थितिबाट विचलित हुँदैन, त्यसैप्रकार परमात्माको स्वरुपमा स्थित योगीको स्थिति पनि सदैव अचल हुन्छ, ठूलोभन्दा ठूलो सांसारिक सुख–दुःखको संयोग–वियोग हुँदा पनि उसको स्थितिमा थोरै पनि फरक हुँदैन, ऊ सच्चिदानन्द परमात्मामा नित्य निरन्तर अटल र एकरस स्थित रहन्छ । 
उपर्युक्त प्रकारले जो आप्तकाम छ, जसको कुनै पनि भोगमा थोरै पनि आवश्यकता छैन, जसमा सबै भोग प्रारब्ध अनुसार आफैँ आएर विलीन हुन्छन् र जो स्वयं कुनै भोगको कामना गर्दैन, उसले नै परम शान्ति प्राप्त गर्दछ । भोगको कामना गर्ने मनुष्यले कहिल्यै शान्ति प्राप्त गर्दैन किनकी उसको चित्त निरन्तर अनेक प्रकारका भोग–कामनाहरुमा विक्षिप्त रहन्छ र जहाँ विक्षेप हुन्छ, त्यहाँ शान्ति कसरी हुन्छ ? त्यहाँ त हरेक पदमा चिन्ता, जलन र शोक नै बास गर्दछ ।