कामदा एकादशी

कामदा एकादशी 

हिन्दु पञ्चाङ्ग अनुसार चैत्र महिनाको शुक्ल पक्षको एकादशीलाई कामदा एकादशी भनिन्छ । 
प्राचीनकालमा भोगीपुर नामको एउटा नगर थियो । त्यहाँ विभिन्न धन–धनादि ऐश्वर्यले भरिपूर्ण भएका पुंडरीक नामका एक जना राजाले राज्य गर्थे । भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर र गन्धर्व वास गर्थे । त्यही ठाउँमा ललित र ललिता नामका स्त्री पुरुष अत्यन्त वैभवशाली घरमा बस्दथे । ती दुई स्त्रीपुरुषबीच अत्यन्त स्नेह थियो, यतिसम्म कि एकछिनको लागि अलग हुनुपर्यो भने पनि दुवैजना निकै व्याकुल हुन्थे ।

 
एक दिन पुंडरीक राजाको सभामा अरु गन्धर्वसंगै ललितले पनि गीत गाइरहेका थिए । गाउँदा–गाउँदै उनलाई आफ्नी पत्नी ललिताको याद आयो र उनको स्वर भंग भएर गीतको स्वरुप बिग्रियो । ललितको मनको भाव जानेको कार्कोट नामको नागले गीतको स्वरुप बिग्रिनुको कारण राजालाई भनिदियो । तब राजाले अत्यन्त क्रोधित भएर ललितलाई मेरो सामुन्ने गीत गाउँदा तँ आफ्नी स्त्रीलाई सम्झिन्छस भने । अनि तँ काँचो मासु खाने र मानिसलाई खाने राक्षस भएस् भनेर श्राप दिए । 

पुंडरीकको श्रापको कारण ललित उति नै बेला एकदम ठूलो राक्षस भयो । उसको मुख अत्यन्त भयङ्कर थियो, आँखा सूर्य–चन्द्रमा जस्तै प्रदिप्त थिए, मुखबाट आगो निक्लिरहेको थियो । उसको नाक पर्वतको कन्दरा जस्तै विशाल भयो र गर्दन पर्वत जस्तै देखिन थाल्यो । समग्रमा उसको शरीर आठ योजन जति फैलियो । यसरी राक्षस भएर उसले अनेक प्रकारको दुःख भोग्न थाल्यो । 

जब उसकी प्रियतमा ललितालाई यो सबै कुरा विस्तारमा थाहा भयो, उसलाई अत्यन्त दुःख लाग्यो र ऊ आफ्नो पतिको उद्धारको उपाय सोच्न थाली । त्यो राक्षस अनेक दुःख भोग गर्दै र सहँदै घना वनमा बस्न थाल्यो । उसकी स्त्री उसको पछि पछि हिंड्दै दुःख मनाउ गर्न थाली । एकचोटी ललिता आफ्नो पतिको पछि पछि घुम्दै घुम्दै विन्ध्याचल पर्वतमा पुगी । त्यहाँ श्रिंगी ऋषिको आश्रम थियो । ऊ ऋषिको आश्रममा गई र विन्तीभाव गरेर प्रार्थना गर्न थाली । 

उसलाई देखेर श्रिंगी ऋषिले भन्नुभयो – ‘हे सौभाग्यवती ! तिमी को हौ र यहाँ के कामले आयौ ? ललिताले भनि – ‘हे मुनिवर ! मेरो नाम ललिता हो । मेरो पति राजा पुंडरीकको श्रापले विशाल राक्षस हुनुभएको छ । उसको उद्दारको कुनै उपाय बताउनुहोला । श्रिंगी ऋषिले भन्नुभयो – ‘हे गन्धर्व कन्या अब चैत्र शुल्क एकादशी आउँदै छ । यो एकादशीको नाम कामदा एकादशी हो । यसको व्रत गर्नाले मानिसका सबै कार्य सिद्ध हुन्छन् । यदि तिमी कामदा एकादशीको व्रत गरेर व्रतको फल आफ्नो पतिलाई दिन्छ्यौ भने ऊ छिटो राक्षस योनिबाट मुक्त हुन्छ र राजाको श्रापबाट बच्छ । 


मुनिको कुरा सुनेर ललिताले चैत्र शुक्ल एकादशीको दिन व्रत गरिन् र द्वादशीको दिन ब्राह्मणहरु राखेर आफ्नो व्रतको फल आफ्नो पतिलाई अर्पण गरिन् । अनि प्रार्थना गर्न लागिन् – ‘हे प्रभु ! मैले गरेको चैत्र शुक्ल एकादशीको व्रतको फल मेरो पतिलाई प्राप्त होस् र उनी राक्षस योनिबाट मुक्त हुनु । एकादशीको फल पाएर उनका पति राक्षस योनिबाट मुक्त भए र आफ्नो पुरानो स्वरुपमा फर्किए । त्यसपछि अनेक वस्त्रभुषण लगाएर ललितासँग खुसी साथ बस्न थाले । अनि दुवै जना विमानमा बसेर स्वर्गलोक गए । 

यो कथा पढ्ने र सुन्नेलाई वाजपेय यज्ञको फल प्राप्त हुन्छ भनेर शास्त्रमा लेखिएको छ । कामदा एकादशीको व्रत विधिपूर्वक गर्नाले सबै पाप नाश हुन्छन् ।